National flag
logo
समाचार

बंगलादेशको राजधानी ढाकामा विश्व बैकको सहयोगमा आयोजित सूचनाद्वारा शसक्तिकरण दक्षिण एशियामा पारदर्शिताको अभ्यास विषयक ट्रान्सपरेन्सी एड्भाईजरी ग्रुपको २ दिने बैठक÷कार्यक्रममा सहभागी भै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा स्वदेश फर्किनु भयो ।

ढाकामा रहँदा प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचना मन्त्री Hasanul haq Inu सँग भेटी आपसी हितका विषयमा कुराकानी गर्नुभयो । विशेषगरी उहाँले दुई मुलुकका सूचना आयोग बीच सहयोगको आदनप्रदान गर्ने र डिजिटल बंगलादेश अवधारणामा सहकार्य गर्ने प्रस्ताव राख्नु भएको थियो । सो अवसरमा मन्त्रीले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउँदै लगिने धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी प्रमुख आयुक्त बाँस्कोटाले बंगलादेशको सूचना आयोगको भ्रमण पनि गर्नुभएको थियो । सो अवसरमा उक्त मुलुकका प्रमुख सूचना आयुक्तले हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो । प्रमुख आयुक्त बाँस्कोटाले सो अवसरमा आपसमा क्षमता अभिवृद्धि गर्ने, अनुभवको आदनप्रदान गर्ने, विज्ञहरुको आदानप्रदान गर्ने, एकअर्को मुलुकका कर्मचारीको भ्रमण गराउने, सूचना प्रविधिको विकासमा सहकार्य गर्ने, कार्यविधि निर्माणमा अनुभवको साटासाट गर्ने र परिआउने असजिला मुद्दामा एकआपसमा राय सल्लाह आदानप्रदान गर्ने गरी आपसमा स्थायी संयन्त्र निर्माण गर्ने प्रस्ताव गर्नुभएको छ । बंगलादेशका प्रमुख आयुक्त Mohammed Farooq ले नेपाली पक्षको प्रस्तावले आफू निकै उत्साही भएको कुरा बताउँदै तत्कालै यस प्रक्रियामा अगाडि बढ्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।

प्रमुख आयुक्त बाँस्कोटाले सूचनाको हक सम्बन्धमा दक्षिण एशियाको स्थिति विषयक सत्रको अध्यक्षता गर्दै नेपालमा राष्ट्रिय सूचना आयोगका आयुक्तहरु नियुक्ति गर्दा रोष्टर र मापदण्ड तयार गरिएको, आयोग गठन भएको एक महिनाकै अवधिमा सबै मन्त्रालयको स्वतः प्रकाशन जारी गर्न सकिएको, जिल्लास्तरमा क्षेत्रीय र जिल्ला हुलाकबाट यस कामको अनुगमन भैरहेको तथा आयोगको नयाँ संगठनका लागि ओ.एण्ड.एम. सर्वेको काम थालनी भएको जानकारी दिनुभएको थियो ।

प्रमुख आयुक्त बाँस्कोटाले बंगलादेशका मुख्य सचिव Muhamad Masharref Hossain Bhuiyan , विश्व बैंकका विक्रम चन्द र भारतका विज्ञहरु प्रोफेसर शेखर सिंह, शैलेश गान्धी र डा.भेङकेटेश नायकसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो । यी सबै भेटघाटमा आयोगका का.मु. सचिव जीवन प्रभा लामा पनि संलग्न हुनुहुन्थ्यो ।

बंगलादेशको ढाकामा आयोजित यस कार्यक्रममा नेपालको तर्फबाट तारानाथ दाहाल र विनोद भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कृष्ण प्रसाद सापकोटा, डा. रामकृष्ण तिम्सिना र राजिव उपाध्याय समेत बैठकमा सहभागी हुुनुहुन्थ्यो । कार्यक्रमबाट सूचनाको हकका क्षेत्रमा भएका नविनतम् विकास बारे जान्न र क्षेत्रीस्तरमा आयोगको सम्बन्ध एवं सम्पर्क विस्तार गर्न भ्रमण लाभप्रद भएको कुरा प्रमुख आयुक्त बाँस्कोटाले बताउनु भएको छ ।