National flag
logo
समाचार

काठमाडौं । २०७१ चैत १८ गते बुधबार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्त यशोदा तिम्सिनाले संयुक्तरुपमा नेपाल सरकारको मातहतमा रहेका प्रशिक्षण प्रदान गर्ने निकायहरुलाई कुनै पनि विषय र क्षेत्रको प्रशिक्षण कार्यक्रम तर्जुमा गर्दा सूचनाको हकलाई पनि छुट्टै सत्रकोरुपमा पाठ्यक्रममा समावेश गर्न विशेष आदेश जारी गर्नु भएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १९(छ) को अधिकार प्रयोग गरी यस्तो आदेश जारी गरिएको जनाईएको छ । यस्तो आदेश नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, राजश्व प्रशासन तालीम केन्द्र, न्याय सेवा तालीम केन्द्र, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र लगायत डेढ दर्जन प्रशिक्षण प्रदान गर्ने निकायमा पठाईएको छ ।

 

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ४ मा सार्वजनिक निकायको दायित्व भित्र सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने, आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गरी सार्वजनिक गर्नुपर्ने, सूचनामा नागरिकको पहुँचलाई सहज र सरल तुल्याउनु पर्ने, ती निकायले आफ्ना काम कारवाही खुल्ला र पारदर्शी गर्नुपर्ने तथा आफ्नो कर्मचारीको लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने प्रष्ट कानूनी व्यवस्था रहेकोले सोही प्रावधानमा टेकेर आदेश जारी गरिएको कुरा राष्ट्रिय सूचना आयोगले जनाएको छ । साथै आयोगको तर्फबाट प्रशिक्षण प्रदान गर्ने निकायका प्रमुखहरुसँग अन्तरक्रिया भएको, तत् पश्चात आयोगले ती निकायमा उनीहरुले पालना गर्नुपर्ने दायित्व बारे लिखित जानकारी गराएको तथा ती निकायमा कार्यरत प्रशिक्षक/अधिकृतहरुलाई सूचनाको हक सम्बन्धी प्रशिक्षक प्रशिक्षण पनि प्रदान गरी सकिएकोले ती निकायबाट सूचनाको हकलाई आफ्नो पाठ्यक्रममा समावेश गरी प्रशिक्षण संचालन गर्न सकिने पूर्वाधार तयार भएकाले आदेश जारी गरिएको कुरा पनि जनाईएको छ । 

 

साथै आयोगले आगामी आ.व. २०७२।०७३ देखि हरेक तालीम केन्द्रले आफ्नो वार्षिक कार्यक्रम पारित गरेको १५ दिन भित्र अनिवार्यरुपमा आयोगलाई पनि जानकारी दिन आदेश गरेको छ । 

 

यस अतिरिक्त करिब एक महिना पूर्व नै राष्ट्रिय सूचना आयोगले कक्षा ६ देखि १२ सम्मको पाठ्यक्रममा सूचनाको हक विषयलाई समावेश गर्न ‘ग्याप एनलाईसिस’ गर्ने, शिक्षकहरुको मार्गनिर्देशन पुस्तिकामा सूचनाको हक विषय समावेश गर्ने, कक्षा ८ र ९ को पाठ्यपुस्तकमा सूचनाको हक सम्बन्धी पाठ समावेश गर्ने र छुट्टै सूचनाको हक सम्बन्धी विषयमा पाठ्यपुस्तक नै तयार गरी लागू गर्ने प्रक्रिया थालनी गरी सकेको जनाएको छ ।

 

(वेदनिधि अधिकारी)

   प्रवक्ता