आयोगको काम, कर्तव्य र अधिकार
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेको छः
- आयोग समक्ष परेको पुनरावेदन, निवेदन, उजुरी सुन्ने र तत्सम्बन्धी निर्णय र आदेश दिने ।
- सूचनादाताको संरक्षण गर्ने ।
- सार्वजनिक निकायका प्रमुख वा सूचना अधिकारीले मनासिव कारणबिना सूचना नदिएको वा दिन इन्कार गरेको, आंशिक रुपमा वा गलत सूचना दिएको वा सूचना नष्ट गरेको देखिएमा आयोगले त्यस्तो प्रमुख वा सूचना अधिकारीलाई एक हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रमुख वा सूचना अधिकारी विभागीय कारबाही हुने पदमा रहेको भए निजलाई विभागीय सजायको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने ।
- क्षतिपूर्तिको लागि प्राप्त निवेदन उपर वास्तविक हानि नोक्सानीलाई विचार गरी मनासिब माफिकको क्षतिपूर्ति सम्बन्धित निकायबाट भराई दिन सक्ने ।
- सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना सम्बन्धी अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्ने ।
- त्यस्तो निकायमा रहेको अभिलेख, लिखत वा अन्य सामग्री सम्बन्धी सूचना सूचीकृत गरी मिलाई राख्न आदेश दिने ।
- नागरिकको जानकारीको लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने ।
- समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने ।
- यस ऐन बमोजिमको दायित्व पालना गर्न, गराउन सम्बन्धित पक्षलाई आदेश दिने ।
- नेपाल सरकार तथा सूचना तथा संचारसँग सम्बन्धित विभिन्न निकायहरूलाई सूचनाको हकको संरक्षण र सम्वर्द्धनका लागि आवश्यक सुझाव दिने वा सिफारिस गर्ने ।
- सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि आवश्यक पर्ने अन्य उपयुक्त आदेश दिने आदि ।