National flag
logo
समाचार

 

प्रेस विज्ञप्ति

राष्ट्रिय सूचना आयोगको वर्तमान दोस्रो कार्यकालका लागि प्रमुख सूचना आयुक्तमा कृष्णहरि बास्कोटा र सूचना आयुक्तमा श्री किरणकुमार पोखरेल तथा श्री यशोदादेवी तिम्सिनाले पद बहाली गरी कार्यारम्भ गरेको पहिलो ४ बर्ष पूरा भएको उपलक्ष्यमा आज एक बिशेष कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा आयोगले २०७१ पुष ३० गते देखि २०७५ पुष ३० गतेसम्म सम्पादन गरेका प्रमुख २० बुँदे कार्य प्रगति विवरण र २०७४ माघदेखि २०७५ पुष मसान्तसम्म भएका केही महत्वपूर्ण आदेशहरुको संग्रह मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल बास्कोटाले विमोचन गर्नु भयो ।

राष्ट्रिय सूचना आयोगले यस ४ बर्षको अवधिमा ४७६४ ओटा आदेश जारी गरेको र सूचनाको हकको महाअभियान सञ्चालन गरेको छ । जस अनुसार स्कूलको पाठ्यक्रममा यो बिषय समावेश गरिएको छ भने स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग यस बिषयमा अन्तरक्रिया सञ्चालनमा ल्याएको छ । साथै आयोगले बार्षिक रुपमा राष्ट्रिय सम्मेलन, आरटिआई अडिट गर्नुका साथै पाँच बर्षे रणनीति तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ । यसैगरी आयोगले संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीसँग छलफल गर्नुका साथै चिकित्सक, इन्जिनियर, सञ्चारकर्मी, सहकारीकर्मी, शिक्षक, कानून व्यवसायी, न्यायाधीश, प्रहरी, वन उपभोक्ता र गैर सरकारी संस्था महासंघ लगायतसँग सूचनाको हकको प्रभावकारी प्रचलनमा सार्थक बहस गरेको छ ।

आयोगद्वारा आयोजित बिशेष कार्यक्रमका प्रमुख अतिथि मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल बास्कोटाले वर्तमान सरकार पनि सुशासन र पारदर्शिताको पक्षमा रहेको कुरा बताउनु भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्कोटाले आयोगबाट सम्पादित काम र महत्वपूर्ण आदेशहरु माथि प्रकाश पार्नु भएको थियो । मन्त्री बास्कोटाले सूचनाको इतिहासको तुलना अब दुनियाँमा अर्को कुनै हतियारसँग नहुने बताउँदै तर यसको सही सदुपयोग गर्ने चुनौति चाँही रहेको धारणा व्यक्त गर्नु भयो । उहाँले सूचनाको हक जस्तै नागरिकको गोपनीयताको हक पनि रहेको उल्लेख गर्दै जनताको सूचनााको अधिकारलाई अब नीजि क्षेत्रमा पनि विस्तार गर्न आयोगसँग आग्रह गर्नु भयो ।  कार्यक्रममा सूचना आयुक्त श्री किरण कुमार पोखरेलले लोकतन्त्रको स्थायित्व र सुदृढिकरणका लागि सूचनाको हक अनिवार्य रहेको कुरा बताउनु भयो । साथै सूचना आयुक्त यशोदादेवी तिम्सिनाले नेपाली नागरिकलाई संविधानको धारा २७ ले सूचना माग्ने र पाउने हक दिएको चर्चा गर्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ का प्रमुख प्रावधानको चर्चा गर्नु भयो । कार्यक्रममा आयोगका सचिव श्री मणिराम ओझाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम आयोगका सहसचिव श्री गीताकुमारी होमेगाईले सञ्चालन गर्नु भएको थियो ।