National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नेपाल सरकारका विभागहरुमा सूचना अधिकारी तोक्ने, तीन/तीन महिनामा २० वटा शीर्षकमा स्वतः प्रकाशन गराउने र ती निकायहरुमा मासिकरुपमा सूचना मांग गर्न परेका निवेदन र सूचना प्रवाह गरिएको विवरण संकलन गरी मासिक प्रतिवेदन पठाउने जिम्मेवारी हुलाक सेवा विभागलाई तोकिएकोले प्रभावकारी ढंगले काम गर्न निर्देश गर्नुभएको छ । उहाँले उक्त निर्देशन आयोगमा आयोजित अन्तरक्रिया कार्यक्रममा दिनु भएको हो ।

प्रमुख आयुक्त बाँस्कोटाले पचहत्तरै जिल्लामा सार्वजनिक निकायद्वारा ३।३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने विवरण प्रकाशन गर्न लगाउने, सूचना अधिकारीको विवरण अद्यावधिक गर्ने र सबै जिल्लामा सूचना मांग भएको विवरण अद्यावधिक गराउन क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुलाई यस कामको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । उहाँले संविधान र कानूनले मौलिक हककोरुपमा प्रदान गरेको आम नागरिकको सूचनाको हकलाई व्यवहारमा प्रचलन गराउदा भ्रष्टाचारमा कमी आउने, विकृति विसंगतिको नियन्त्रण हुने, नागरिकनागरिक बीचको विभेद हट्ने र मुलुकमा सुशासन स्थापना हुने कुरामा जोड दिनुभयो ।

प्रमुख आयुक्त बाँस्कोटाले नेपाल सरकारका क्षेत्रीयस्तरका कार्यालयको अनुगमन गर्ने जिम्मेवारी क्षेत्रीय हुलाक निर्देशनालयलाई र जिल्लास्तरीय कार्यालयहरुको अनुगमन गर्ने जिम्मेवारी जिल्ला हुलाक कार्यालयलाई सुम्पिईएको कुरा पनि बताउनु भयो । यस काम वापत आयोगले क्षेत्रीय हुलाक निर्देशनालयलाई एकमुष्ठ तीस हजार र जिल्ला हुलाक कार्यालयहरुलाई पच्चीस हजारको बजेट उपलब्ध गराउने छ । सर्वप्रथम यी अनुगमन गर्ने जिम्मेवारी पाएका कार्यालयहरुले, विभाग, क्षेत्रीय र जिल्लास्तरीय कार्यालयहरुको सूचना अधिकारीको विवरण संकलन गरी एकीकृत नामवलीको ल्फेक्स बोर्ड सार्वजनिक गर्नेछ । तत् पश्चात प्रत्येक ३/३ महिनामा सरकारी काम कारवाहीलाई विभिन्न २० वटा शीर्षकमा विभक्त गरी नियमित रुपमा प्रकाशन गर्न अन्तरक्रिया र बैठकको आयोजना गर्नेछ । यस अतिरिक्त सबै सरकारी कार्यालयहरुमा छुट्टै रजिष्टर र फाईल खडा गर्न लगाई सूचना मांग गर्नेको विवरण अद्यावधिक गर्नेछन् । यस अतिरिक्त जिल्ला हुलाक कार्यालयहरुले आआफ्नो जिल्लामा सूचनाको हकक क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाको नाम र तिनको गतिविधि पनि संकलन गर्नेछ । यस काममा खरो उत्रिन प्रमुख आयुक्त बाँस्कोटाले निर्देशन दिनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त किरण पोखरेलले लोकतन्त्रको प्रबद्र्धनका लागि सूचनाको हकको महाअभियानमा दृढताका साथ लाग्न हुलाकमा कार्यारत प्रमुखहरुलाई विशेष आग्रह गर्नुभयो । अर्का आयुक्त यशोदा तिम्सिनाले यस नयाँ कामको जिम्मेवारीले हुलाक प्रशासनलाई नयाँ अवसर दिएको कुरा बताउनु भयो । आयोगका सचिव जीवन प्रभा लामाले कामको सन्दर्भमा आई पर्ने समस्याको व्यवस्थापन गर्न आयोग अग्रसर हुने कुरा बताउनु भयो । हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डेले आफ्नो संगठनलाई सुम्पिएको नयाँ जिम्मेवारी पूर्णतः उत्साहका साथ सम्पादन गरिने कुरा बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा हुलाक सेवा विभागको अतिरिक्त हुलाक निर्देशनालयका निर्देशकहरु र जिल्ला हुलाक कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।