National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोग
प्रेस विज्ञप्ति
२०७२/०३/२७


    राष्ट्रिय सूचना आयोगले यही असार ५ गते आयोजना गरेको निबन्ध प्रतियोगिताका विजयी सूचना अधिकारी तथा सञ्चारकर्मीहरुलाई आज मिति २०७२ साल आसार २७ गते एक समारोहकाबीच नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । व्यवस्थापिका संसद विकास समितिका सभापति श्री रविन्द्र अधिकारीले पुरस्कृत व्यक्तिहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । ‘नेपालमा सूचनाको हकको स्थिति र आवश्यकता विषयक निबन्ध प्रतियोगितामा सञ्चारकर्मीका तर्फ चुडामणी भट्टराई प्रथम, घनश्याम सापकोटा द्घितीय र राकेश कुमार चौधरी तृतीय हुनुभएको थियो भने सूचना अधिकारीका तर्फबाट रमेश अर्याल प्रथम, कृष्ण बहादुर लिम्बू द्घितीय र जीवन कुमार राई तृतीय हुनु भएको छ । सो निबन्ध प्रतियोगिताको मूल्यांकन गर्न पूर्व आयुक्त श्री आचार्यको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र सूचनाको हकका अभियान्ता एकराज पाठक सदस्य रहेको समिति गठन गरिएको थियो ।


पुरस्कार वितरण समारोहलाई संबोधन गर्र्दै व्यवस्थापिका विकास समितिका सभापति रविन्द्र अधिकारीले सूचनाको हक विचार तथा अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताको हकलाई कहीं कतै संकुचित हुने गरी संविधानको मस्यौदामा परेको भए त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी बनाउन सूचना अधिकारी र सञ्चारकर्मीको ठूलो भूमिका रहेकोले संविधान र कानून बमोजिमको भूमिका निर्वाह गर्न र नागरिकलाई यसमा उत्प्रेरित गर्न आग्रह गर्नुभएको थियो । समारोहमा आयुक्तद्घय किरण पोखरेल र यशोदा तिम्सिना तथा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सूचनाको हक र वाक स्वतन्त्रतामा देखिएको मस्यौदाको संकुचन गर्ने शब्दावली हटाउन माग गर्नुभएको थियो भने कार्यक्रममा पुरस्कृतका तर्फबाट पत्रकार चुडामणि भट्टराई र सूचना अधिकारी रमेश अर्यालले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै गरी आयोगका उपसचिव वेदनिधि अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने मूल्यांकनकर्ताको तर्फबाट एकराज पाठकले विजयी उम्मेदवारको नाम घोषणा गर्नुभएको थियो ।


वेदनिधि अधिकारी
उप–सचिव / प्रवक्ता