National flag
logo
समाचार

प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा सूचना आयुक्त श्री यशोदादेवी तिम्सिना सहितको उपस्थितिमा आज राष्ट्रिय सूचना आयोगको विशेष बैठक बस्यो । सो बैठकमा पूर्व प्रमुख आयुक्त श्री विनय कसजू, पूर्व सूचना आयुक्त  श्री सविता भण्डारी बराल, कानूनविद्हरु श्री काशीराज दाहाल, डा. रामकृष्ण तिमिल्सिना र श्री माधव कुमार बस्नेत, सूचनाको हकका अभियन्ताहरु श्री केदार खडका, श्री सुरेश आचार्य र श्री टंकराज अर्याल तथा आयोगका सचिव श्री लक्ष्मणप्रसाद मैनाली र पूर्व सचिव श्री श्रीराम पन्तको उपस्थिति थियो ।


  गत बैशाख १२ गते शनिबारका दिन आएको भूकम्पबाट नेपाली जनतामा पुगेको अपूरणीय क्षतिका सम्बन्धमा बसेको बैठक नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना   माग्ने वा पाउने हकको व्यवस्था रहेको सन्र्दभमा केन्द्रीत रह्यो । सूचनाको हकसम्बन्धी ऐनको दफा ३ को उपदफा (३) ले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पँहुचको प्रत्याभूति गरेको सन्र्दभमा यी संवैधानिक र कानूनी व्यवस्थाको प्रभावकारी प्रचलनका लागि भूकम्पले पुरयाएको क्षतिको वास्तविक विवरण एवं नेपाल सरकार तथा विभिन्न सार्वजनिक निकायद्वारा संचालित राहतको कामका सम्बन्धमा अधिक भन्दा अधिक सूचना सार्वजनिक गरी जनतामा राहत र  सेवा प्रवाह गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै देहाय बमोजिमको व्यवस्था गर्न गराउन आयोग आग्रह गर्दछ ।

१. यही बैशाख १२ गते शनिबार आएको अकल्पनीय महा भू–कम्पले पुरयाएको जनधनको क्षतिका साथै पुरातात्विक महत्वका सम्पदा नष्ट गराएको दुःखद घटनाबाट राष्ट्रिय सूचना आयोग मर्माहत भएको छ । आयोग यस दुःखद घटनामा मृतकहरुको आत्माको   चीर शान्तिको कामना गर्दछ । साथै मृतक परिवारका आफन्तहरुमा समवेदना व्यक्त गर्दछ । यसैगरी घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
 
२. यस दुःखद घडीमा आयोगका पदाधिकारीहरु प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरु एक महिनाको तलव सुविधावापत् प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्दछौं ।

३. राष्ट्रिय संकटको यस दुःखद घडीमा भ्रमपूर्ण सूचना प्रवाह नगर्न तथा त्यस्ता सूचनाको पछि नलाग्न सर्वसाधारण जनतालाई आयोग हार्दिक आग्रह गर्दछ| यस अवस्थामा आधिकारिक सूचना संप्रेषण गर्न आम संचार माध्यमलाई समेत आयोग विशेष आग्रह गर्दछ ।

४. नेपाल सरकारका विभिन्न निकाय लगायत अन्य सार्वजनिक निकायले राहतस्वरुप पठाएको सहयोग कहाँ, कहिले र कुन प्रक्रियामार्फत वितरण भइरहेको छ त्यसको स्पष्ट जानकारी आफ्नो वेवसाइट, राष्ट्रिय पत्रपत्रिका, रेडियो, टिभी, अनलाईन र स्थानीय   संचारमाध्यम समेतद्वारा आम जनतालाई सुसूचित गर्न आग्रह गर्दछ ।

५. दात्री निकायहरुबाट प्राप्त भईरहेको राहत सामाग्री र प्रतिवद्धताका विषयमा स्पष्ट र पूर्णतः पारदर्शिता अवलम्बन गर्न आयोग आग्रह गर्दछ । यसैगरी राहत वितरण कार्यमा संलग्न संघ, संस्था, सार्वजनिक निकाय, विदेशी सहयोगी संस्थाहरुले पनि राहत वितरण    कार्यलाई पारदर्शी तुल्याउन आयोग हार्दिक अनुरोध गर्दछ ।

६. पहिचान नखुलेका मृतक तथा परिवारको सम्पर्कमा नरहेका घाईतेहरुको विवरण सार्वजनिक माध्यममार्फत सूचना प्रवाह गर्न आयोग आग्रह गर्दछ । यसैगरी मृतक, घाईतेको उपचार र अन्य सेवा प्राप्तिका लागि नागरिकले सम्पर्क गर्नुपर्ने निकाय र      पदाधिकारीको नाम र सम्पर्क नम्बर पनि सर्वसाधारणमा प्रभावकारीढंगले संप्रेषण गर्न आयोग आग्रह गर्दछ ।

७. यस्तो संकटपूर्ण अवस्थामा घरबारविहिन भएका र तत्कालै क्षमता नभएकाहरुलाई प्लाष्टिक सेटिङ्ग, पाल, कम्बल जस्ता सामाग्री र  विशेषतः दैनिक जीवनमा नभई नहुने अत्यावश्यक सेवा, खाद्यान्न र आधारभूत औषधि जस्ता उपभोग्य सामाग्रीको वितरणमा      नागरिकले सहजरुपमा प्राप्त गर्ने गरी सूचना प्रवाह गर्नपनि आयोग आग्रह गर्दछ । यसैगरी कुन समयमा कुन क्षेत्रमा खानेपानी वितरण गरिने हो र ट्याङ्करबाट कुन समयमा पानी वितरण गरिने हो त्यस्को पूर्व सूचना सार्वजनिक गर्न र विद्युत सेवाको हकमा पनि     सर्वसाधारणलाई विद्युत आपूर्ति हुने र कटौती हुने समयका बारेमा जानकारी दिन सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।

८. यस्तो संकटपूर्ण अवस्थामा संचार सेवाको अति महत्वपूर्ण भूमिका रहने हुँदा टेलिफोन सेवालाई  चुस्त र दुरुस्त बनाई छुट सुविधाका विषयमा सबैलाई जानकारी हुनुपर्ने कुराको सूनिश्चित गर्न पनि आयोग आग्रह गर्दछ ।

९. नागरिकको सुसूचित हुने हकको सबैले सम्मान गरौं ।

 

मिति २०७२ बैशाख १८ गते 

कृष्णहरि बाँस्कोटा
प्रमुख सूचना आयुक्त